गत मे १६ का दिन तमु ट्हो ह्युल हङकङ द्वारा आयोजित बैशाख पुर्णिमाको मेला मंकि हिलमा धुम धाम संग मनाइयो। संस्थाका अध्यक्ष श्रीमती इच्छा कुमारी गुरुङको अध्यक्षतामा संचालीत बैशाख पूर्णिमाको औपचारिक कार्यक्रमको प्रमुख अतिथी संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री चन्द्र बहादुर गुरुङ रहनु भएको थियो। यस कार्यक्रममा बिभिन्न संघ संस्थाहरुका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिती थियो। सो कार्यक्रममा स्वागत भाषण प्रवक्ता श्री नारायण गुरङले दिनु भएको थियो भने बैशाख पूर्णमाको वारेमा सह-सचीब श्रीमती रीता गुरुङले बताउनु भएको थियो।
सो कार्यक्रममा यसै वर्ष गत अप्रीलमा फियोना हङकङ द्वारा आयोजित डान्स आइडलको दोस्रो संस्करणमा सुश्री सृजना गुरुङले शिर्ष उपाधी जित्न सफल हुनु भएकोमा ऊहाँलाई खदा तथा प्रमाणपत्रद्वारा सम्मान गरियो। त्यसै गरि सोहि डान्स आइडलमा प्रथम रनर अप हुन सफल भएकोमा सुश्री सुनिता गुरुङलाई पनि खदा तथा प्रमाणपत्रद्वारा सम्मान गरियो।
तमु ट्हो ह्युलकि सह-सचिब श्रीमती रीता गुरुङ नेपाली महासंघको महासचिबको पदमा निर्वाचित हुनु भएकोमा र महासंघबाट प्रतिनिधित्व गरेर आउनु भएका भरखरै निर्वाचित महासंघका सचिब नन्द चम्सुँ दुबैलाई खदाद्वारा सम्मान गरियो। हङकङमा आउनु भएका नायक तथा नृत्य कलाकार सुबास गुरुङलाई पनि खदा द्वारा स्वागत तथा सम्मान गरियो।
दोस्रो चरणको कार्यक्रममा घँटु, सोरठी, कौडा तथा बिभिन्न प्रकारका गुरुङ गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बालबालिकाहरुको लागि बेलून फुटाउने खेल आयोजना गरिएको थियो। बिजयी बालबालिकाहरुलाई खदा तथा पुरुस्कार द्वारा पुरुस्कृत गरिएको थियो। त्यसै गरि महिलाहरुको लागि कुर्सी घुम्ने खेलको आयोजना गरिएको थियो। उक्त खेलको बिजयी महिलाहरुलाई खदा तथा पुरुस्कार द्वारा पुरुस्कृत गरिएको थियो।
यस बैशाख पूर्णिमा कार्यक्रममा राफल चिट्ठाको पनि ब्यवस्था गरिएको थियो। यस राफल चिट्ठाको पुरुस्कारहरुको प्रायोजन नमो बुद्ध आमा समुहले गर्नु भएको थियो।
युनाईटेड क्रिशचियन नेदरसोल कम्यूनिटी हेल्थ सर्बिसका डा शर्मिला गुरुङ र उहाँका टीमबाट जात्रामा आउनेहरुको स्वास्थ परिक्षण गरिएको थियो। कार्यक्रममा बि बि क्यु तथा ड्रिन्कस्को पनि ससुल्क ब्यवस्था गरिएको थियो।
बैशाख पुर्णिमा कार्यक्रमलाई आर्थिक सहयोग गर्नेहरुमा समाज सेवी श्री प्रेम बहादुर गुरुङबाट (राँपु गाऊँ) हङकङ डलर ३०००, नमो बुद्ध आमा समुहबाट हङकङ डलर १४०० (राफल टिकटको प्रायोजन) हङकङ उर्गेन दोर्जे छोलिङ बुद्धिष्ट सेन्टरबाट हङकङ डलर ५०० र राम गुरुङबाट (राफल चिट्ठा बिजेता प्रथम) हङकङ डलर ५०० प्राप्त भएको थियो।
